भोलिको एमाले केन्द्रीय कमिटी र संसदीय दल बैठकमा माधव नेपाल पक्ष सहभागी नहुने

नेकपा एमालेको माधव नेपाल पक्षले शनिबारको केन्द्रीय कमिटी र संसदीय दलका दुवै बैठक बहिस्कार गर्ने भएको छ । शुक्रबार बानेश्वरमा बसेको माधव नेपाल पक्षीय स्थायी कमिटीको बैठकले दुवै बैठकमा सहभागी नहुने निर्णय गरेको हो ।

विगतमा संसदीय दलको बैठक दलको कार्यालय सिंहदरबार वा संसद् भवन बानेश्वरमा बस्दै आएकोमा यस पटक प्रधानमन्त्रीको निवासमा राखेर दललाई निजीकरण गर्न खोजिएकाले त्यसमा सहभागी नहुने निर्णय गरिएको एक नेताले बताए ।

बैठक दलको कार्यालय वा संसद् भवनमा आयोजना गरी उपयुक्त एजेण्डा र प्रक्रिया अवलम्बन गरिएमा विचार सहभागिताको बारेमा बिचार गर्न सकिने निष्कर्ष नेपाल पक्षले निकालेको छ ।

त्यस्तै शनिबारै बस्ने केन्द्रीय कमिटी बैठकमा पनि भाग नलिने निर्णयमा नेपाल पक्ष यथावत रहेको छ । अध्यक्ष केपी शर्मा ओलीले शनिबारको बैठकमा सहभागी हुन सार्वजनिक रूपमा समेत आह्वान गरेका छन् ।

तर, नेपाल पक्षले भनेको छ- केन्द्रीय कमिटी बैठकका नाममा आफ्ना गुटका मानिसलाई मात्र खबर गरी फागुन २८ गते अवैध ढंगले भेला गरी विधान उल्लंघन गरिएकाले उक्त कथित बैठक खारेज नभएसम्म केन्द्रीय कमिटीको बैठक बस्न नसक्ने भएकाले भोलिका लागि प्रचारित बैठकमा सहभागी नहुने ।

संस्थापन पक्षले भने पार्टीका आधिकारिक बैठकमा भाग नलिने सांसदहरूमाथि कारवाही गरिने चेतावनी दिइसकेको छ ।

प्रतिक्रिया