स्थानीय चुनाव : आज रातिदेखि माैन अवधि

काठमाडौं । वैशाख ३० गते हुने स्थानीय तह चुनावका लागि आज रातिदेखि माैन अवधि सुरु हुँदैछ । 

आज राति १२ बजेदेखि लागू हुनेगरी माैन अवधि सुरु हुने निर्वाचन आयाेगले जनाएकाे छ । मौन अवधिको पूर्ण पालना गर्न आयाेगले सबैमा आग्रह गरेको छ । मौन अवधिमा रानीतिक दल, नेता, उम्मेवार, कार्यकर्ता तथा भातृ संगठनले के गर्न हुने र के गर्न नहुने जानकारी दिँदै आयोगले यसको प्रभावकारी कार्यान्वयन गर्न पनि आग्रह गरेकाे छ ।

आयाेगका अनुसार मौन अवधिभर निर्वाचन प्रचारप्रसार लगायत गतिविधि गर्न पाइँदैन । उम्मेदवारहरुले प्रचारप्रसार गर्न र मत माग्न पाइँदैन । मौन अवधि सुरु हुनु अगाडि मतदानस्थलको ३ सय मिटरवरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचारप्रसारका सामग्री हटाउनुपर्ने हुन्छ ।

मौन अवधिमा सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसारका सामग्री पोस्ट वा सेयर गर्न वा गराउन पाइँदैन ।

निर्वाचन आचारसंहिता पालन भए-नभएको अनुगमनका लागि अनुगमन टोली परिचालन गरिएकाे आयोगले जनाएकाे छ । साे टोलीले उल्लंघकर्ता जो सुकै भए पनि कारबाही गर्नसक्नेछ ।

माैन अवधि सुरु हुने भएकाले आज दलहरुलाई भ्याइ नभ्याइ छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गृह जिल्ला झापा पुग्नुभएकाे छ । अध्यक्ष ओली आज झापाबाट फर्केर भृकुटी मण्डपमा हुने चुनावी सभालाई सम्बाेधन गर्नुहुनेछ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा गृहजिल्ला डडेलधुरा पुग्नुभएकाे छ ।

प्रतिक्रिया