‘ल्याङल्याङ’ शब्दको उत्पत्ति रामेछापमा भएको हो

देवशंकर पौडेल

ल्याङल्याङ शब्द नेपालभरि मात्र होइन, नेपाली भाषी जहाँजहाँ छन्, त्यहाँ बोलिन्छ । ल्याङल्याङ शब्दको उत्पत्ति रामेछापमा भएको हो । रामेछापको पुरानो सदरमुकामबाट हुलाकडाँडा, बेतिनी भएर खुर्कोट जाने बाटाको रमणीय थुम्कालाई परम्परादेखि ल्याङल्याङ भनिंदै आएको छ । ल्याङल्याङ थुम्काको आसपास त्यसवेला ब्यापक कपास खेती हुन्थ्यो । कपासबाट घरेलु कपडा (खाँडी) बनाइन्थ्यो ।

त्यहि कपडा लगाइन्थ्यो । त्यसपछि ल्याङल्याङको नजिकै गोल्माटार आसपास फलाम पत्ता लाग्यो । सारा गाउँलेहरू खानीको काममा लागे । कपास र फलाम खानी साथ साथै चल्यो । कालान्तरमा दुवै उद्यमसिलता सिथिल हुँदै गए । आज पूर्णरुपमा बन्द छन् । छुटपुट कपासका बोट, खाँडीका तान र भग्नावशेषका रुपमा फलामका किटका थुप्रा र फलाम खानीका ढोडुङ्गा मात्र देख्न पाइन्छ । तिल्पुङ मध्ये, चौरास मध्ये भनेजस्तै ल्याङल्याङ मध्ये भन्ने गरिन्थ्यो । ल्याङल्याङ सभ्यता पुरानो सदरमुकाम रहेको रामेछापको भन्दा पनि पुरानो छ ।

कुरा ल्याङल्याङको छ । सिमपानी, गोल्माटार, थामडाँडा, हुलाकडाँडा, बेतिनी, टारसिमन्तीआदि रमणीय गाउँहरूको मेरुदण्ड झैं खडा भएको छ । ल्याङल्याङ । विश्वभरीका नेपालीहरूका माझ ल्याङल्याङ शब्द कुन अर्थमा प्रयोग भइरहेको छ ? त्यो बेग्लै कुरा हो । तर, ल्याङल्याङ शब्द उत्पत्तिको अर्थ बारे जनश्रुति यसो भन्छ–परापूर्वकालमा हालको ल्याङल्याङ नजिकै रहेको सिमपानी नाम भएको पखेरामा मगर जातका मानिसहरू बस्तथे । हाल त्यहाँ मगर छैनन् । नजिकैको थामडाँडामा तामाङहरूको बसोबास थियो । यी दुवै समुह एकापसमा मेलमिलापपूर्ण ढङ्गले दसकौंदेखि बसोबास गरिरहेका थिए । दुवै समुहका युवा युवतिहरू डण्डीवियो, कपर्दी, हुतुतु, छेलो, गिरआदि खेलहरुमा एकापसमा प्रतिस्पर्धा गर्ने गर्थे । यी खेलहरू मैत्रीपूर्ण हुने गर्थे ।

खेल्दाकै समयमा एकाएक दुई समुहका विच कुरा मिलेन । बादविवाद चर्किदै गयो । दुवैतर्फका एकएकजना जोदाहा ठिटाहरू हात हालाहालको अवस्थामा पुगे । भेट्यो कि कुस्ती पर्न थाल्यो । त्यसले समुदाय समुदाय विचमा समेत द्वन्द्व हुने सम्भावना बढेर गयो । मेला,पर्व, घाँस,दाउरा जाने ठाउँ एउटै थियो । जहाँ जाँदा पनि यी दुवै समुहका युवाका विच हिंसात्मक झगडा हुन थालेपछि दुवै समुदायका बुढापाकाहरू चिन्तित भए । उनिहरू मेल मिलाप गर्ने उपायको खोजीमा लागे ।

त्यहाँ एकजना प्रसिद्ध लामा थिए । जो हर्दम ध्यानमा बस्थे । फुर्सदमा स्थानीयहरूकाबीच ज्ञानगुणका कुरा (धर्मदेशना) गर्थे । हेर्दैमा पनि लामा शान्तिका दूत जस्तै थिए । जो बुद्ध दर्शनका ज्ञाता थिए । युवाहरूको यो बारम्वारको झगडाका कुरा लिएर गाउँका पाका र अनुभवी अभिभावकहरू लामा समक्ष गएर सविस्तार सुनाए । कुरा सुनेर लामा गुरु दुःखित भए ।

उनले दुवै युवालाई हालको ल्याङल्याङको थुम्कीमा बोलाए । लामो समय लिएर लामाले युवकहरूलाई सम्झाई बुझाई गरे । उनिहरूलाई लामाका कुरामा विश्वास भयो । अव कहिल्यै झगडा नगर्ने कसम खाए । लामाले अन्त्यमा मीत लगाइदिए । तामाङ भाषामा “लेङ” शब्दले मित भन्ने बुझिन्छ । त्यसवेला लामाले उनिहरूलाई बाहाँ जोडेर मित लगाइदिनु भएको थियो र भन्नु’भो “अव आइन्दा झगडा नगर्नु, आजदेखि तपाईंहरू “लेङलेङ” हुनु’भो ।” दुई पटक भन्दा लेङलेङ (मितमित) भयो । मित लगाएको ठाउँलाई नै लेङलेङ भन्दा भन्दै अपभ्रम्स भएर ल्याङल्याङ भएको हो, भन्ने जनश्रुति छ । हाल यहाँ भिमसेनको प्रसिद्ध मन्दिर छ । नेवार जातिका मानिसहरूको बसोबास रहेको छ ।

प्रतिक्रिया